लन्डनको WTM 2026 मा नेपालको पर्यटन प्रवर्द्धन
लन्डन । विश्व पर्यटन बजारको प्रमुख व्यापारिक मेला WTM London 2026 लन्डनको ExCeL केन्द्रमा नोभेम्बर ३ देखि ५ सम्म चलिरहेको छ। ‘उत्थानशीलता, पुनरुत्थान र पुनःआविष्कारः विश्वव्यापी यात्राको नयाँ युग’ भन्ने मूल नाराका साथ आयोजना भएको यस मेलामा विश्वभरका पर्यटन व्यवसायी, लगानीकर्ता र नीति निर्माता सहभागी भएका छन्।
मेलामा नेपालले पनि सक्रिय सहभागिता जनाएको छ। नेपाल पर्यटन बोर्डको नेतृत्वमा ३२ वटा नेपाली कम्पनीले नेपाली पर्यटन गन्तव्यको प्रवर्द्धन गरिरहेका छन्। नेपाली व्यवसायीहरूले नेपालको प्राकृतिक सौन्दर्य, हिमाली गन्तव्य, पदयात्रा, पर्वतारोहण, साहसिक पर्यटन र सांस्कृतिक विविधताबारे अन्तर्राष्ट्रिय खरीदकर्ता तथा साझेदारलाई जानकारी दिइरहेका छन्।
नेपालको तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ‘गनेस’ पनि मेलामा सहभागी भएका छन्। उनको सहभागिताले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पर्यटन सम्भावनालाई थप उजागर गरेको आयोजक पक्षको भनाइ छ।
आयोजकका अनुसार यस वर्षको मेलामा ४ हजार १०० भन्दा बढी कम्पनीले प्रदर्शकका रूपमा सहभागिता जनाएका छन्। मेलाको पहिलो दिन सार्वजनिक गरिएको ग्लोबल ट्राभल रिपोर्ट २०२६ ले सन् २०२६ मा विश्वभर अन्तर्राष्ट्रिय पर्यटकको सङ्ख्या १ अर्ब ५७ करोड पुग्ने प्रक्षेपण गरेको छ। साथै विश्वव्यापी पर्यटन खर्च नौ प्रतिशतले बढेर ७.८ ट्रिलियन अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ।
मेलाको अर्को आकर्षण विभिन्न देशका पर्यटनमन्त्रीहरूको सहभागितामा हुने मन्त्रीस्तरीय शिखर सम्मेलन हो, जहाँ पर्यटनका नयाँ प्रवृत्ति, दिगो यात्रा र भविष्यका अवसरबारे छलफल हुन्छ। नेपालका लागि यस्तो मञ्चले विदेशी पर्यटक आगमन बढाउने, पर्यटनमा लगानी आकर्षित गर्ने र अन्तर्राष्ट्रिय टुर अपरेटरहरूसँग सहकार्य विस्तार गर्ने अवसर दिने अपेक्षा गरिएको छ।











