प्रहरी महानिरीक्षकमा डा. मनोज केसी नियुक्त: कार्की प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार

संवाददाता
२०८३ कार्तिक १९, बुधबार १६:१६

काठमाडौं । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) डा. मनोजकुमार केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ। उनी नेपाल प्रहरीका ३४औँ महानिरीक्षक हुन्।

निर्णयसँगै बहालवाला महानिरीक्षक दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको छ। कार्की २०८२ कात्तिक २४ मा ३३औँ महानिरीक्षक नियुक्त भएका थिए।

केसी हालसालै प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागको प्रमुख थिए। २०५४ चैत २८ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका उनी र कार्की एउटै ब्याचका अधिकृत हुन्, र उनी २०८२ वैशाख ११ मा एआईजीमा बढुवा भएका थिए।

नक्कली भुटानी शरणार्थी ठगी प्रकरणको अनुसन्धानमा निर्वाह गरेको भूमिकाले चर्चामा आएका केसीले केन्द्रीय अनुसन्धान ब्युरो (CIB) को नेतृत्वसमेत सम्हालेका थिए। कम्बोडियाको पन्नासास्ट्रा विश्वविद्यालयबाट द्वन्द्व रूपान्तरण विषयमा विद्यावारिधि गरेका उनले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत कोसोभो र हाइटीमा समेत काम गरेको अनुभव छ।

पत्रकार धरपकड प्रकरणले विवाद निम्त्याएको केही दिनपछि सरकारले प्रहरी नेतृत्व फेरबदलको निर्णय गरेको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*