कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यालयको ताला नखुलेपछि पठनपाठनमा अवरोध ।

संवाददाता
२०८१ मंसिर १९, बुधबार १५:३४

जुम्ला — कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका शिक्षक तथा कर्मचारीहरुले बढुवाको माग गर्दै प्रतिष्ठानमा ताला लगाएपछि पठनपाठन ठप्प भएको छ ।

दुईसातादेखि प्रतिष्ठानको शैक्षिक भवन, उपकुलपति, रजिष्ट्रार र रेक्टरको कार्यकक्षमा ताला लागेको छ । प्रतिष्ठानका पदाधिकारीहरुले आन्दोलनरत शिक्षक र कर्मचारीहरूसँग संवाद र सहमतिको वातावरण सिर्जना गर्न सकेका छैनन् ।

लामो समयदेखि काम गरेका शिक्षक तथा कर्मचारीहरुको बढुवा नभएको भन्दै ५८ जना शिक्षक तथा कर्मचारीहरू आन्दोलनमा उत्रिएका हुन् । शिक्षक कर्मचारीहरुले बढुवा नभएसम्मको लागि कार्यालयमा लागेको ताला नखोल्ने चेतावनी दिएका छन् ।

जबसम्म हातमा बढुवाको नियुक्ति पत्र आउँदैन, तबसम्म ताला नखुल्ने कर्मचारीको अडानका कारण शैक्षिक तथा प्रशासनिक काम ठप्प भएको छ । लामो समयदेखि बढुवा प्रक्रिया अघि नबढाइनु, कर्मचारीको पक्षमा अदालतले गरेको फैसला कार्यान्वयन गर्न नमान्नु, कार्यकारी परिषद्ले सभा बैठकमा लिएको स्तरोन्नतिको प्रस्तावमा सैद्धान्तिक सहमति दिँदा समेत पहल अघि नबढ्नु जस्ता कार्यहरुले ताला लगाउन बाध्य भएको शिक्षक कर्मचारीहरुको भनाइ छ ।

शिक्षक कर्मचारीको बढुवाको लागि लोकसेवा आयोगको परामर्शका आधारमा अघि बढ्ने प्रतिष्ठान पदाधिकारीहरुको भनाइ छ । शिक्षक कर्मचारीसँग वार्ता गर्न डा. डबलबहादुर धामीको संयोजकत्वमा तीन सदस्यीय वार्ता कमिटी गठन भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*