साउदीमा ड्रोन आक्रमणमा एक नेपालीको ज्यान गयो, परराष्ट्र मन्त्रालयले जनायो दुःख

संवाददाता
२०८३ कार्तिक ७, शुक्रबार ११:१३

काठमाडौं । साउदी अरेबियामा भएको ड्रोन आक्रमणमा एक नेपाली नागरिकको मृत्यु भएको छ। साउदी अरेबियाको पूर्वी क्षेत्रस्थित साउदी अरामकोको सयबाह तेल क्षेत्रलाई लक्षित गरी बुधबार उडाइएको ड्रोनलाई साउदीको वायु प्रतिरक्षा प्रणालीले आकाशमै खसालेको थियो। सो ड्रोनका खसेका भग्नावशेष ठेकेदारको एउटा सवारीसाधनमा खस्दा आगलागी भयो, जसमा एक नेपाली र एक फिलिपिनी नागरिकको मृत्यु भयो भने एक पाकिस्तानी र एक भारतीय नागरिक घाइते भएका छन्।

नेपालको परराष्ट्र मन्त्रालयले बिहीबार सामाजिक सञ्जालमार्फत उक्त घटनाको जानकारी दिँदै नेपाली नागरिकको दुःखद मृत्युमा गहिरो शोक व्यक्त गरेको छ। मन्त्रालयले पीडित परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

मन्त्रालयले नागरिक र महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गर्ने कुनै पनि आक्रमणको कडा निन्दा गर्दै विवादको शान्तिपूर्ण समाधान संवाद, वार्ता र कूटनीतिक माध्यमबाट खोज्नुपर्ने नेपालको स्पष्ट अडान दोहोर्‍याएको छ।

साउदीको ऊर्जा मन्त्रालयका अनुसार सयबाह तेल क्षेत्रको एउटा प्रशोधन केन्द्रलाई लक्षित गरी उडाइएको ड्रोनलाई रोक्दा खसेका भग्नावशेषले केन्द्रको बाहिरी भागमा रहेको ठेकेदारको सवारीसाधनमा आगलागी भएको थियो। तेल क्षेत्रको सञ्चालनमा भने कुनै असर नपरेको जनाइएको छ। मृतक नेपालीको नाम, ठेगाना वा रोजगारदाताको विवरण सार्वजनिक गरिएको छैन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*