नेपाली कम्युनिस्ट पार्टीको राष्ट्रिय जागरण अभियान सुरु, माधव नेपालले तथ्य र प्रमाणले गलत भाष्य चिर्नुपर्ने बताए

संवाददाता
२०८३ कार्तिक ९, आईतवार ०८:२६

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले शनिबारदेखि राष्ट्रिय जागरण अभियान सुरु गरेको छ। काठमाडौंमा आयोजित कार्यक्रममा पार्टीका सह–संयोजक एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अभियानको उद्घाटन गरे।
कार्यक्रममा नेता नेपालले राजनीतिलाई स्वार्थीहरूको खेलका रूपमा व्याख्या गर्ने प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गरे। पुराना दल र पुराना नेताले देशमा केही गरेनन् भन्ने भाष्यलाई मनोगत आरोपले होइन, तथ्य र प्रमाणका आधारमा जवाफ दिनुपर्ने उनको भनाइ थियो।
शहीद र योद्धाहरूले व्यक्तिगत स्वार्थका लागि नभई देशको प्रतिष्ठा उठाउन, जनताका पीडा सम्बोधन गर्न र विभेदमुक्त समाज निर्माणका लागि जीवन समर्पण गरेको उनले स्मरण गराए।
नेता नेपालले २०४७ साल यता वामपन्थी र कम्युनिस्ट नेतृत्वका सरकारहरूले संघ, प्रदेश र स्थानीय तहमा गरेका कामहरूको विस्तृत विवरण छिट्टै सार्वजनिक गर्ने घोषणा गरे। प्रचण्ड गणतन्त्र नेपालका पहिलो प्रधानमन्त्री भएको र आफूले पनि त्यसपछि प्रधानमन्त्री भएर देश हाँकेको उनले उल्लेख गरे।
दलहरूले आफ्ना कमी–कमजोरीको समीक्षा गर्नुपर्ने तर राम्रो कामको जस नदिने र अपजस मात्र थोपर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने उनको भनाइ थियो। राष्ट्रिय हित र राष्ट्रिय स्वाभिमानमा आँच आउने कुरा पार्टीलाई स्वीकार्य नहुने भन्दै उनले राष्ट्रियतालाई अभियानको सर्वोच्च प्राथमिकता बताए।
अभियान दुई महिनासम्म चल्ने र यस क्रममा संगठन सुदृढीकरण, सदस्यता विस्तार तथा महँगी र भ्रष्टाचारविरुद्ध जनचेतना फैलाउने कार्यक्रम गरिने पार्टीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*