टेस्ला अब नेपालमा आधिकारिक रूपमा प्रवेश, गाडीहरूको मूल्य ४० प्रतिशतसम्म घट्ने अनुमान
काठमाडौं । टेस्लाका विद्युतीय गाडीहरू अब नेपालमा आधिकारिक रूपमा उपलब्ध हुने भएका छन्। टेस्ला नेपाल नामक कम्पनीले आधिकारिक विक्रेताको मान्यता पाएको छ, जसले पहिलो पटक टेस्लालाई नेपालमा औपचारिक रूपमा प्रवेश गराउने छ।
सामान्यतया, टेस्ला आफ्नै लगानीमा मुख्य बजारहरूमा प्रवेश गर्ने भए पनि नेपाल जस्तो नयाँ बजारमा आधिकारिक विक्रेतामार्फत नै आइपुग्ने योजना बनाइएको हो। यसका लागि अमेरिकाको टेक्ससमा रहेको टेस्लाको मुख्यालयसँग सम्झौता भइसकेको टेस्ला नेपाल प्रालिका सीईओ, सुरेन्द्र कोइरालाले जानकारी दिए।
कोभिडपछि, विश्व बजारमा टेस्लाका इलेक्ट्रिक गाडीहरूको बिक्री अपेक्षाअनुसार भएन, खास गरी चिनियाँ ईभी निर्माताहरूको कडा प्रतिस्पर्धाका कारण। यसपछि टेस्लाले विश्वभरका केही सीमित बजारमा विश्वसनीय साझेदारहरूसँग सहकार्य गर्ने नीति अपनाएको थियो। टेस्ला अब नेपालमा आधिकारिक विक्रेतामार्फत गाडी ल्याउने तयारीमा छ, र यसमा चार वर्षको निरंतर प्रयासपछि सफलता प्राप्त भएको कोइरालाले बताए।
टेस्लाले आफ्नो प्रमुख हेडक्वाटरसँग तीन वटा सम्झौतामा सहमति बनाएको छ, जसमा स्ट्यान्डर्ड प्रक्रिया, लगानी सुरक्षा, ग्राहक सेवा र अनुभवमा प्रतिबद्धता सुनिश्चित गरिएको छ। यी सम्झौताहरू अनुसार, सिंगापुर र हङ्गकङ्गका कार्यालयहरूले ग्राहक सेवा, शोरुम, सर्भिस सेन्टर र चार्जिंग नेटवर्कको निगरानी गर्नेछन्।
टेस्ला नेपालले काठमाडौं उपत्यकामा शोरुम र कस्टमर एक्सपिरियन्स सेन्टरको स्थापना गर्ने तयारी गरिरहेको छ, जसमा बालुवाटार र झम्सिखेल क्षेत्रका लागि ठाउँ तय गरिएको छ। कम्पनीले एकान्त क्षेत्रको तीन रोपनी जग्गामा सर्भिस सेन्टर निर्माण गरिरहेको छ, जसमा पाँचवटा गाडी चार्ज गर्न मिल्ने सुपर चार्जर नेटवर्क पनि हुनेछ।
नेपाली बजारमा प्रारम्भिक चरणमा टेस्ला मोडेल ३, मोडेल वाई र मोडेल एक्स का ५० युनिट गाडीहरू ल्याइनेछन्। यी गाडीहरू नेपाली बजारमा अहिलेको तुलनामा आधा मूल्यमा उपलब्ध हुने अपेक्षा गरिएको छ।
यसअघि, अरेत इन्टरनेसनल प्रालिले नेपालमा टेस्ला ईभीको आयात र विक्रि वितरणको काम गर्दै आएको थियो, तर उनीहरू आधिकारिक विक्रेता थिएनन्। अब ‘टेस्ला नेपाल’ ले आधिकारिक विक्रेताको मान्यता पाएको छ र अरेतले अब टेस्ला गाडीहरू आयात र बिक्री गर्ने काम नगर्ने जनाएको छ।
टेस्ला नेपालले आगामी फेब्रुअरीको अन्त्यसम्म गाडीहरू नेपालमा भित्र्याउने योजना बनाएको छ, र यससँगै सर्भिस सेन्टर र चार्जिङ नेटवर्क विस्तार गर्ने तयारी गरिरहेको छ।











