हेटौंडा सिमेन्ट उद्योग आर्थिक संकटमा उत्पादन ठप्प

संवाददाता
२०८१ माघ ६, आईतवार २०:१३

हेटौंडा – आर्थिक संकटका कारण हेटौंडा सिमेन्ट उद्योगको उत्पादन गत असोज १५ देखि ठप्प भएको छ। उद्योग प्रशासनले उपकरण मर्मत तथा आर्थिक समस्याका कारण उत्पादन रोकिएको जनाएको छ।

मंसिरको पहिलो साताबाट उत्पादन सुरू गर्ने योजना भए पनि उपकरण मर्मत नसकिएर र कच्चा पदार्थ अभावले समस्या थपिएको उद्योगका प्रवक्ता हरेराम आचार्यले जानकारी दिए।

उद्योगमा ३१८ कर्मचारी कार्यरत छन्, तर उत्पादन ठप्प हुँदा उनीहरू कामविहीन बनेका छन्। नियमित तलब भत्ता र इन्धन खर्चले आर्थिक बोझ झन् बढेको छ।

उद्योगलाई दैनिक १२० टन कोइलाको आवश्यकता पर्छ, तर पुरानो बक्यौता नतोकिएकाले कोइला आपूर्ति र विद्युत् महसुलमा समस्या रहेको छ। करिब ३०/४० करोड रुपैयाँ विद्युत् प्राधिकरणको बक्यौता बाँकी रहेको छ।

२०३३ सालमा स्थापना भई २०४३ देखि उत्पादन शुरू गरेको उद्योग पुराना उपकरणका कारण पनि कठिनाइमा परेको छ। उद्योगले गत भदौ तेस्रो साताबाट ६५ हजार बोरा सिमेन्ट उत्पादन गरेको भए पनि दैनिक १६ हजार बोराको उत्पादन क्षमताका बाबजुद समस्या जटिल बनेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*