जनकपुरमा व्यवसायीलाई मरणासन्न बनाइ कुटपिट
जनकपुरधाम उपमहानगरपालिका–९ पिडारीचोकमा एक व्यवसायीमाथि निर्मम कुटपिट भएको छ। बरहथवा नगरपालिका ८ का ३७ वर्षीय व्यवसायी मुकेश प्रसाद यादवमाथि फलामको रडले प्रहार गर्दै सामूहिक आक्रमण गरिएको हो।
घटनामा गम्भीर घाइते भएका यादवलाई जनकपुरमा उपचार सम्भव नभएपछि ललितपुरको बी एण्ड बी अस्पताल रिफर गरिएको छ।
धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुणबहादुर सिंहका अनुसार, शनिबार दिउँसो यादवमाथि जनकपुरधाम उपमहानगरपालिका १३ पिडारीका ४८ वर्षीय फेकु साह, १९ वर्षीय अमित साह, २४ वर्षीय तुल्सी साह, १९ वर्षीय सुभाष साह र भारत बिहारको सितामढी विष्णुपुर ३ का १७ वर्षीय विकास कुमार साह सहित अन्य व्यक्तिहरूले आक्रमण गरेका थिए। घटनामा फेकु साहका तीन छोराहरुको समेत संलग्नता रहेको प्रहरीले जानकारी दिएको छ।
घटनापछि फेकु साह र उनका पाँचजना सहकर्मीलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया सुरु गरिएको छ।
यादवमाथि भएको आक्रमणको भिडियो सामाजिक मिडियामा भाइरल भएको छ, जसमा पाँच मिनेटसम्म उनलाई फलामका रडले कुटिरहेको दृश्य देखिन्छ।
कवाड संकलन सम्बन्धी टेण्डरको विषयमा फेकु र मुकेशको सहकार्य थियो। सो टेण्डरको बारेमा छलफल गर्नका लागि मुकेश सर्लाहीको बरहथवा नगरपालिका १३ का वडाध्यक्ष जागिर दर्जीसँगै आएका थिए, जहाँ उनीहरुबीच विवाद उत्पन्न भएको थियो। स्थानीयका अनुसार, कुटपिट अघि फेकु र उनका छोराले मुकेशलाई गालीगलौज गरेका थिए। प्रहरीको भनाइअनुसार, यो आक्रमण त्यहि विवादसँग सम्बन्धित रहेको हो।











