मकवानपुरको थाहामा धारिलो हतियार प्रहार गरी महिलाको विभत्स हत्या, आरोपी पक्राउ
मकवानपुरको थाहा नगरपालिका–१ कुन्छालमा धारिलो हतियार प्रयोग गरी एक महिलाको विभत्स हत्या गरिएको छ। मिति २०८२ असार ५ गते अपराह्न २स्२० बजे ५० वर्षीया तुलमाया गोपालीको टाउको र शरीर छुट्टिने गरी हत्या भएको पुष्टि प्रहरीले गरेको छ।
प्राप्त जानकारीअनुसार तुलमाया गोपालीमाथि उनका छिमेकी तथा देवर नाता पर्ने ३५ वर्षीय बिमलमान गोपालीले खुकुरी प्रहार गरेका हुन्। घटनास्थलमै तुलमायाको ज्यान गएको र आरोपी घटनापछि फरार भएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पालुङ र अस्थायी प्रहरी पोस्ट बज्रबाराहीबाट टोली खटिएको थियो।
खोजतलासका क्रममा आरोपी बिमलमानलाई घटनाको झण्डै एक घण्टापछि थाहा नगरपालिका–३ थानाबजारबाट खुकुरीसहित पक्राउ गरी इलाका प्रहरी कार्यालय पालुङमा ल्याइएको छ। घटनास्थलको प्रारम्भिक अनुसन्धान सम्पन्न गरी मृतकको शव पोष्टमार्टमको लागि शिक्षण अस्पताल, महाराजगञ्ज काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।
मृतकको माइती पक्ष थाहा नगरपालिका–१ कुन्छालमै रहेको जानकारी दिँदै प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको बताएको छ। हत्या किन र कसरी गरिएको हो भन्नेबारे विस्तृत विवरण अनुसन्धानपछि खुल्ने जनाइएको छ।











