बागमतीको सत्ता राजनीति : काठमाडौँमा बसेर बहादुर सिंह लामाको ‘बार्गेनिङ’

संवाददाता
२०८२ श्रावण २८, मंगलवार १२:११

काठमाडौं: बागमती प्रदेशको सत्ता समीकरणमा नयाँ मोड आएको छ। मुख्यमन्त्री इन्द्र बानियाँ विश्वासको मत लिन तयार भइरहँदा पूर्वमुख्यमन्त्री बहादुर सिंह लामाको नेतृत्वमा रहेको समूह काठमाडौंमै बसेर कडा ‘बार्गेनिङ’मा उत्रिएको छ।

लामा पक्षले आफ्ना तीन जना सांसदलाई मन्त्री नियुक्त गर्नुपर्ने ‘बटमलाइन’ राख्दै उक्त माग नपुुर्ने अवस्था सम्म विश्वासको मत नदिने अडान लिएको छ।

मुख्यमन्त्री बानियाँले मंगलबार अपराह्न ४ बजेका लागि विश्वासको मत लिने प्रदेशसभा बैठक बोलाएका छन्। तर लामा पक्षका अधिकांश सांसदहरू काठमाडौंमै रोकिएका छन्, जसले बानियाँको बहुमतमा चुनौती सिर्जना गरेको छ।

लामा पक्षीय सांसद कुन्दन काफ्लेले रातोपाटीसँग कुरा गर्दै, “हामी अहिले काठमाडौंमै छौं। छलफल चलिरहेको छ, सहमति कार्यान्वयन होला कि नहोला, त्यो हेर्न बाँकी छ।”

बानियाँलाई विश्वासको मत दिन कांग्रेस सभापति शेरबहादुर देउवाले लामाका सांसदहरूलाई निर्देशन दिइसकेका छन्। तर लामा समूहले पहिले मन्त्री पदको लिखित सहमति मागिरहेको छ।

देउवाका स्वकीय सचिव भानु देउवाले भने, “लम्सालसहितका सांसदहरू पार्टी कार्यालय आएका थिए। सभापतिज्यूले पहिले विश्वासको मत दिनुस्, त्यसपछि म बानियाँलाई मन्त्री बनाउन भन्छु भनेर निर्देशन दिनुभएको हो।”

बानियाँ नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनबाट साउन २० गते मुख्यमन्त्री बनेका हुन्। संविधानको धारा १६८ (४) र प्रदेशसभा नियमावली २०७४ को नियम १४३(१) अनुसार उनले विश्वासको मत लिन लागेका हुन्।

११० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५६ मत आवश्यक छ। बानियाँ पक्षमा कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ मत हुने अपेक्षा गरिएको थियो। तर लामाको समूहमा रहेका १४ सांसदले मत नदिएमा बानियाँ अल्पमतमा पर्न सक्ने खतरा देखिएको छ।

यद्यपि, देउवाले लामाको माग सम्बोधन गर्न मुख्यमन्त्रीलाई पनि निर्देशन दिइसकेका छन्। तर, अन्तिम सहमति भने अझै टुंगोमा पुगेको छैन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*