मकालु हिमाल चढ्ने क्रममा अमेरिकी पर्यटकको मृत्यु
काठमाडौं — पूर्वी नेपालमा रहेको मकालु हिमाल आरोहण गर्दै गर्दा एक अमेरिकी पर्वतारोहीको मृत्यु भएको छ। यो आरोहण बाल क्यान्सर कार्यक्रमका लागि कोष संकलन गर्न गरिएको थियो, अधिकारीहरूले मंगलबार जानकारी दिएका छन्। मार्चमा सुरु भएको यस वर्षको हिमाल आरोहण सिजनमा यो दोस्रो मृत्यु हो।
विश्वको पाँचौँ अग्लो मकालु हिमालको उचाइ २८,००० फिट छ, जुन विश्वकै अग्लो हिमाल सगरमाथाको (२९,०३२ फिट) भन्दा केही कम मात्र हो।
३९ वर्षीय एलेक्ज्यान्डर प्यान्को आइतबार उच्च शिविर–३ मा अनुकूलन यात्रा सकेर दोस्रो उच्च शिविरमा फर्किएपछि सुत्ने ब्यागमा बस्दै गर्दा मृत्यु भएको अभियान आयोजक म्याडिसन माउण्टेनियरिङले जनाएको छ।
“एलेक्स अचानक होस गुमाए,” कम्पनीले आफ्नो वेबसाइटमा लेखेको छ। “घणौँसम्मको प्रयासपछि पनि उनलाई बचाउन सकिएन।”
नेपालको पर्यटन विभागले उनको शव काठमाडौं ल्याउने तयारी भइरहेको जनाएको छ।
कम उमेरमै मस्तिष्कको ट्युमरबाट बचेका प्यान्कोले सातै महादेशका सर्वोच्च हिमाल आरोहण गरेर र उत्तर तथा दक्षिण ध्रुवसम्म स्की गरेर एक्सप्लोरर्स ग्रान्ड स्ल्याम पूरा गरेका थिए। उनी क्रोनिक माइलोइड ल्युकेमियासँग लडिरहेका थिए र अमेरिकाको शिकागोस्थित ल्युरी चिल्ड्रेन्स हस्पिटलको बाल रक्त क्यान्सर कार्यक्रमका लागि कोष संकलन गर्न मकालु चढ्दै थिए, अभियान नेता गेरेट म्याडिसनले बताएका छन्।
उनी यसअघि नै त्यहाँका क्लिनिकल ट्रायल र अन्य कार्यक्रमहरूका लागि १० लाख डलर संकलन गरिसकेका थिए।
यसअघि अप्रिल महिनामा विश्वको दशौँ अग्लो अन्नपूर्ण हिमालमा एक नेपाली शेर्पाको मृत्यु भएको थियो।
भारत र चीनको बीचमा अवस्थित स्थलरुद्ध नेपालमा विश्वका १४ मध्ये ८ वटा अग्ला हिमालहरू छन्, जसमा सगरमाथा पनि पर्छ। नेपालको अर्थतन्त्र विदेशी विनिमयका लागि हिमाल आरोहण, ट्रेकिङ र पर्यटनमा धेरै भर पर्छ।











