गौर नरसंहारबारे सर्वोच्चको फैसलामा उपेन्द्रको टिप्पणीः ‘यो राजनीतिक मामिला हो तर अनुसन्धान गरे सहयोग गर्छु’
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले गौर नरसंहारको पुनः अनुसन्धान गरे आफूले निष्पक्ष सहयोग गर्ने बताउनुभएको छ । १८ वर्षअघिको बहुचर्चित गौर नरसंहारको छानविन अघि बढाउन भन्दै सर्वोच्च अदालतले भदौ २ गते (सोमवार) आदेश दिएको थियो । गौर नरसंहारका घाइतेमध्येका एक त्रिभूवन साह लगायतले दायर गरेको रिट निवेदनमाथिको सुनुवाइपछि सर्वोच्चले यो फैसला गरेको हो । सोही विषयमा न्युज एजेन्सी नेपालसँगको कुराकानीमा अध्यक्ष यादवले सरकारले अनुसन्धान अघि बढाए आफूले अनुसन्धानमा सहयोग गर्ने बताउनु भयो । उहाँले अदालतलाई आफूहरुले सम्मान गर्ने भन्दै घटना भएको बेलामा पनि सरकारले अनुसन्धान गरी तथ्य बाहिर ल्याइसकेको बताउनु भयो । न्यायिक जाँचबुझ आयोगका साथै मानव अधिकार आयोग, राष्ट्रसंघीय मानव अधिकार आयोगले समेत यस विषयमा अनुसन्धान गरेर आफ्ना प्रतिवेदनहरु ल्याइसकेको बताउनु भयो । त्यही बेला नै मुद्दा अघि बढ्नसक्ने अवस्था नरहेको र करिव १९ वर्षपछि आएर पुनः मुद्दा अघि बढाउनु राजनीतिक प्रतिशोध हुनसक्ने अध्यक्ष यादवको भनाइ छ ।











