हिमालदेखि महासागरसम्म सबैले स्वच्छ हावामा श्वास फेर्ने वातावरणको निर्माण गरौँः उपाध्यक्ष घिमिरे
राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले हिन्दुकुश हिमालय क्षेत्रका देशहरुले साझा एजेण्ड बनाइ जलवायु परिवर्तनका असरबारे काम गर्नुपर्ने बताउनुभएको छ । हिन्दुकुश हिमालय संसदीय सम्मेलनका क्रममा मंगलवार काठमाडौंमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले हिन्दुकुश हिमालय क्षेत्रका मुलकहरुको पारिस्थतिकीय प्रणाली सामाजिक र आर्थिक चुनौतिका विषयहरु सबैका साझा मुद्दा रहेको भन्दै यसबारे लड्न सबै मिल्नुपर्ने जरुरी रहेको बताउनु भयो । हिन्दुकुश हिमालय क्षेत्रमा वायु प्रदुषण, जैविक विविधताको ह्रास, जलवायु परिवर्तनबाट सिर्जित संकट जस्ता विषय साझा चुनौतिका रुपमा देखापरेको बताउनु भयो । स्वच्छ हावामा श्वास फेर्न पाउने नागरिकको नैसर्गिक अधिकार रहेको बताउँदै हिन्दुकुश हिमालयन क्षेत्रका विद्यमान जैविक विविधताको उचित संरक्षण र व्यवस्थापन गरेर त्यसबाट समुदायले लाभ प्राप्त गर्ने सम्भावना तथा प्रकृति समाजको जलवायु उत्थानशिलतामा अभिवृद्धि गर्न यस क्षेत्रका सांसद तथा सरकार मिलेर साझा एजेण्डामा काम गर्न आवश्यक रहेको पनि बताउनु भयो ।











