तिहार नजिकिँदै गर्दा सयपत्री फूलको माग चुलियो, पानीका कारण किसान चिन्तित
बिर्तामोड, झापा — नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा फूलहरूको विशेष महत्व रहने यो पर्वका लागि सयपत्री फूलको माग ह्वात्तै बढेको छ। लक्ष्मीपूजादेखि भाइटीकासम्म, घर सजावटदेखि अतिथि सत्कारसम्ममा प्रयोग हुने सयपत्री फूलको खेतीमा व्यस्त किसानहरू एकातर्फ मागको चापमा रमाइरहेका छन् भने अर्कोतर्फ हालैको अविरल वर्षाले फूल नष्ट भएपछि चिन्तित बनेका छन्।
बिर्तामोड नगरपालिका–७ का फूल व्यवसायी विवेक साहले तिहारका लागि दैनिक रूपमा सयपत्री फूलको माग बढिरहेको जानकारी दिएका छन्। उनले भिनाजु दीपक साहसँग मिलेर दुई बिघा जमिन भाडामा लिएर ८० हजार सयपत्री फूलका बिरुवा रोपेका छन्। हाल उनी दैनिक ३०० माला बिर्तामोड, दमक, र विराटनगरका व्यापारीलाई आपूर्ति गर्दै आइरहेका छन्। फूल टिप्नेदेखि माला बनाउनेसम्मका कार्यमा उनले स्थानीयलाई रोजगारी पनि दिएका छन्।
“तिहारको लागि माग त धेरै छ, तर गत हप्ता परेको पानीले करिब १० हजार माला बराबरको फूल नष्ट गर्यो,” साहले भने, “माग अनुसार फूल पुर्याउन सक्दिन कि भन्ने चिन्ता छ।” साहको फूलबारी अहिले स्थानीयको आकर्षणको केन्द्र पनि बनेको छ जहाँ धेरैजसो टिकटक भिडियो खिच्न पुग्छन्।
हाल उनी प्रति माला रु ५० को दरले फूल बिक्री गरिरहेका छन्। यद्यपि तिहारमा बजारको अवस्थाअनुसार मूल्य समायोजन गर्ने तयारी रहेको उनले बताएका छन्। उनले एक पटक लगाएको फूल तीन पटकसम्म टिप्न मिल्ने बताए भने एकपटकको टिपाइमा २० हजार माला उत्पादन हुने जानकारी दिएका छन्। तिहारमा एक लाख माला उत्पादन गर्ने लक्ष्य भए पनि पानीका कारण त्यो लक्ष्य अपूरो रहने सम्भावना देखिन्छ।
बिर्तामोड–९ की अर्की फूल किसान सुष्मा पौडेलले पनि सात कठ्ठा जमिनमा सयपत्री फूल खेती गरेकी छन्। उनले दसैँमा केही फूल बिक्री गरे पनि मुख्यतया तिहारकै लागि फूल साचेर राखेकी थिइन्। तर, अविरल वर्षाले करिब रु २ लाख ५० हजार बराबरको फूल नष्ट गरेको उनले बताइन्।
“धेरै अर्डर आएको थियो, तर अब पुर्याउन सक्ने अवस्था छैन,” पौडेलले भनिन्, “कार्यक्रमहरूमा खादाको सट्टा फूलको मालाको प्रयोग बढेपछि माग पनि बढेको हो।” उनी विगत पाँच वर्षदेखि व्यावसायिक फूलखेती गर्दै आएकी छन्।
झापा जिल्लाको बिर्तामोड, बाहुनडाँगी, गौरादहलगायत क्षेत्रमा सयपत्री फूलको व्यावसायिक खेती फस्टाउँदै गएको छ। यद्यपि, प्राकृति प्रभावले यस वर्ष किसानहरू चुनौतीमा परेका छन्।
यस वर्षको तिहारमा बजारमा फूलको माग उच्च भए पनि आपूर्ति चाप पुरा गर्न किसानहरू संघर्षरत देखिन्छन्। पानीले पुर्याएको क्षतिले उनीहरूको लगानीसमेत जोखिममा परेको छ। तिहार पर्वको रौनकसँगै किसानको पसिना पनि बजारमा सँगै पोखिएको छ।











