दूध आपूर्तिसँगै पुनः सञ्चालनमा चितवन मिल्क उद्योग

संवाददाता
२०८२ आश्विन २८, मंगलवार १६:४६

चितवन: लामो समयदेखि बन्द रहेको चितवन मिल्क उद्योग डेरी र सहकारीहरूले दूध आपूर्ति गर्न थालेपछि पुनः सञ्चालनमा आएको छ। दूधको अभावका कारण जेठ अन्तिम साताबाट बन्द भएको उद्योग असोजको पहिलो साताबाट क्रमशः सञ्चालनमा आएको हो।

उद्योगका प्रबन्धक दुर्गा पराजुलीका अनुसार उद्योग गत असारमा दुई दिनमात्र सञ्चालनमा आएपछि पुनः बन्द भएको थियो। अहिले दैनिक ८० हजारदेखि एक लाख लिटरसम्म दूध उद्योगमा आउन थालेपछि उत्पादन नियमितजस्तै भएको छ।

“सालाखाला ८० हजार लिटर दूध दैनिक आइरहेको छ,” पराजुलीले बताए। डेरी र सहकारीहरूले दूध नल्याउँदा उद्योग आफैँले दूध किनेर सञ्चालन गर्ने तयारी पनि गरेको थियो। तर त्यतिबेला देशभर दूध अभाव रहेकाले उद्योग सञ्चालन सम्भव भएको थिएन।

चितवन, मकवानपुर, नवलपरासी, रुपन्देहीलगायत जिल्लाबाट दूध आपूर्ति हुन थालेपछि उद्योगले नियमित प्रशोधन थालेको हो। दशैं बिदाको समयबाहेक असोज महिनादेखि उद्योग नियमित रूपमा सञ्चालन भइरहेको जनाइएको छ।

किसानबाट सङ्कलन गरिएको दूध बिक्री नभएपछि डेरी तथा सहकारीहरूले चितवन मिल्क उद्योगमा ल्याएर प्रशोधन गर्ने गरेका छन्। उद्योगले पाउडर दूध र नौनी (बटर) उत्पादन गर्दै आएको छ। तर, गत वर्ष बिक्री नभएको कारण थन्क्याइएको नौनी, घ्यू र पाउडर दूध सम्बन्धित संस्थाहरूले लगिसकेका छन्।

भरतपुर महानगरपालिका–१, ठिमुरामा अवस्थित उद्योगले वि.सं. २०७५ देखि डेरी र सहकारीबाट शुल्क लिएर दूध प्रशोधन गर्दै आएको हो। उद्योगले प्रतिलिटर पाउडर दूधको रु ११३ र प्रतिकिलो नौनीको रु ५५ शुल्क लिने गर्दछ।

वि.सं. २०६४ मा स्थापना भएको चितवन मिल्क उद्योग वि.सं. २०७२ को भूकम्पपछि बन्द भएको थियो। सुरुमा उद्योग आफैँले दूध किनेर प्रशोधन गरी बजारमा बिक्री गर्ने गर्थ्यो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*