जेनजी प्रदर्शनको फोटो भाइरल भएपछि विजय लामा भन्छन्, ‘अराजक गतिविधिमा संलग्न छैन’
जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते भएको तोडफोड र आगजनीमा सहभागी भएको भन्दै विभिन्न सेलिब्रेटीहरूको फोटो, भिडियो भाइरल भइरहेको छ । त्यसै मध्येका एक हुन्- पाइलट तथा अभिनेता विजय लामा ।
सामाजिक सञ्जालमा आरोप लगाएको जस्तो आफूले केही पनि नगरेको दावी लामाले गरेका छन् । अनलाइनखबरसँग कुराकानी गर्दै उनले आफू कुनै पनि अराजक गतिविधिमा संलग्न नभएको बताएका हुन् ।
हाल सामाजिक सञ्जालमा युलेन्स स्कुलको अगाडि उभिएर अन्य व्यक्तिसँग सेल्फी खिचिरहेको उनको फोटो भाइरल भइरहेको छ । फोटोमा मुस्कुराइरहेका देखिएका उनलाई स्कुल जल्दा खुसी मनाएको आरोप लागेको छ ।
यस फोटोबारे उनले खण्डन गरेका छन् । ‘युलेन्स अगाडि होइन । त्यसको छेवैमा भएको एउटा घर जल्न लाग्दा त्यहाँ म पुगेको थिएँ’ उनले भने, ‘त्यहाँ कोही मसँग फोटो खिच्न आउनुभएको थियो । यस्तो हुन्छ भन्नेबारे मलाई केही पनि थाहा थिएन’
त्यस्तै सामाजिक सञ्जालमा धेरै कुरा हुने र त्यसबारे आफूलाई केही पनि जानकारी नभएको समेत उनले बताए ।











