२१ फागुनको निर्वाचनमा साढे ७ अर्ब खर्च हुने आयोगको अनुमान
निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्यका लागि २१ फागुनमा हुन लागेको चुनावमा साढे सात अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरेको छ।
आसन्न चुनावको तयारी अन्तर्गत आयोगले प्रारम्भिक अनुमानसहितको बजेट तयार पारेको हो। बजेट तयारीको अन्तिम टुंगो भने लागिसकेको छैन। यसलाई अन्तिम टुंगो लगाएर अर्थ मन्त्रालयमा पठाउने निर्वाचन आयोगको तयारी छ।
आयोगका सूचना अधिकारी सुमन घिमिरे बजेट तयारीकै क्रममा रहेको बताउँछन्। उनी भन्छन्, ‘साढे सात अर्ब रुपैयाँ खर्च हुने अनुमान छ। तर, यसबारे अन्तिम टुंगो लाग्न बाँकी छ ।’
सामग्रीहरूको सूची तयार गरिँदै
निर्वाचन आयोगले बजेट निर्माण गर्दै गर्दा निर्वाचनका लागि आवश्यक सामग्रीहरूको सूची तयार गर्दैछ।
छठ पर्व सकिएलगत्तै आवश्यक सामग्री किन्न सुरू गर्नुपर्ने आयोगको आग्रह छ। यसका लागि आयोगले अर्थ मन्त्रालयसँग छलफल गरिरहेको छ। यसअघि नै रहेका सामग्री समेत प्रयोग गर्ने गरी आयोगले थप आवश्यक सामग्री खरिद गर्न खोजेको जनाएको छ।











