ओलीको कडा आपत्ति : “प्रधानमन्त्रीको विद्रोह चेतावनी योजना हो कि अनुमान?” ( भिडियो )

संवाददाता
२०८२ मंसिर ६, शुक्रबार १५:३४

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीले ‘कच्चा कुरा’ गरेको भन्दै कडा आपत्ति जनाएका छन्। शुक्रबार काठमाडौंमा कमाण्ड घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीले हालै व्यक्त गरेका राजनीतिक टिप्पणीहरू गैरजिम्मेवार प्रकारका भएको आरोप लगाए।

यसअघि राजनीतिक दलहरूसँगको छलफलमा प्रधानमन्त्री कार्कीले प्रतिनिधिसभा पुनर्स्थापना मागले देश फेरि अस्थिरताको चक्रमा फस्न सक्ने अभिव्यक्ति दिएकी थिइन्। यही भनाइको प्रतिवाद गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्रीको चेतावनी कसलाई लक्षित हो भन्ने स्पष्टिकरण माग गरे।

ओलीले भने, “यदि यो सरकार संविधानसम्मत बनेको छैन भन्ने हो भने त झनै विद्रोह हुन्छ रे। कसले विद्रोह गर्छ? नेपाली जनतालाई धम्क्याएर अस्तिको भन्दा ठूलो विद्रोह हुन्छ रे? फेरि आगो लगाउने? के भनेको हो त्यो?”

प्रधानमन्त्रीको अभिव्यक्तिलाई सिधा प्रश्न गर्दै उनले थपे, “प्रधानमन्त्रीज्यू, यो योजना हो कि अनुमान? योजना हो भने सपना नदेख्नुस्। अनुमान हो भने डराउन छाड्नुस्। नेपाली जनतालाई पनि डर देखाउन छाड्नुस्।”

ओलीले देशलाई अनावश्यक आतंकित पार्ने भाषणले राजनीतिक वातावरण झन् अस्थिर बनाउने बताएका छन्। उनले राजनीतिक समस्याको समाधान संविधान र लोकतान्त्रिक प्रक्रियामार्फत खोज्नुपर्नेमा जोड दिए।

भिडियो

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*