राष्ट्रपति पौडेलको आह्वान : निर्वाचन सफल बनाउन सबै पक्ष एकजुट होऔँ ( भिडियो )

संवाददाता
२०८२ मंसिर ६, शुक्रबार १८:१५

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गतेका लागि घोषणा भएको प्रतिनिधि सभा निर्वाचनलाई सफल बनाउन सबै पक्षलाई जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको छ।

शुक्रवार पद्मकन्या बहुमुखी क्याम्पसको हीरक जयन्ति समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले देश अहिले विषम र जटिल परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै संविधान, लोकतन्त्र र मुलुकलाई जोगाउनका लागि नै निर्वाचन अपरिहार्य भएको स्पष्ट पार्नुभयो।

“देश आज विषय परिस्थितिबाट गुज्रिएर यो अवस्थासम्म आएको छ,” राष्ट्रपति पौडेलले भन्नुभयो, “त्यस कठिन परिस्थितिबाट संविधान, लोकतन्त्र र मुलुकलाई जोगाउँदै फागुन २१ का लागि प्रतिनिधि सभाको निर्वाचनको मिति तय भएको हो। यो निर्वाचनले सुशासन, विकास र समृद्धिको यात्रालाई सुदृढ तुल्याउँदै नयाँ दिशा दिनेछ भन्ने मलाई विश्वास छ।”

उहाँले आगामी निर्वाचन केवल राजनीतिक घटना मात्र नभई देश तथा जनताको भविष्यसँग प्रत्यक्ष सम्बन्धित भएकाले यसको सफलताका लागि सम्पूर्ण नेपाली दाजुभाइ–दिदीबहिनीलाई एकजुट भएर अघि बढ्न अपिल गर्नुभयो।

कार्यक्रममा राष्ट्रपति पौडेलले शिक्षा क्षेत्रले बदलिँदो समाज तथा राष्ट्रको आवश्यकताअनुसार व्यवहारिक ज्ञान, नैतिक शिक्षा र सीपमूलक शिक्षाको प्रभावकारितामाथि विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो।

पद्मकन्या क्याम्पसलाई महिला विश्वविद्यालयमा रूपान्तरण गर्ने प्रयासप्रति खुशी व्यक्त गर्दै उहाँले महिलाओंको पहुँच, क्षमता र नेतृत्व विकासका लागि उच्च शिक्षामा लगानी गर्न राज्य र समाज दुवै जिम्मेवार हुनुपर्ने धारणा राख्नुभयो।

कार्यक्रममा उपस्थित शैक्षिक, राजनीतिक तथा सामाजिक क्षेत्रका प्रतिनिधिहरूले समेत महिलामुखी उच्च शिक्षाको विकासलाई देशको समग्र समृद्धिसँग जोडिएको बताए।

भिडियो :

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*