हेटाैंडाकाे सडक विस्तार प्रभावितबाट पत्रकारहरूमाथि दुर्व्यवहार
२२ मंसिर, हेटाैंडा । हेटाैंडामा सडक विस्तारका कारण प्रभावित स्थानीयहरू जिल्ला प्रशासन कार्यालय मकवानपुर घेराउ गर्न पुगेका बेला समाचार संकलनका लागि खटिएका पत्रकारमाथि दुर्व्यवहार भएकाे छ । प्रशासनकाे मूल गेटबाहिर सडक विस्तारका क्रममा भत्काइएका घर बनाइदिनुपर्ने, मुआब्जा दिनुपर्ने, सिडिओकाे राजीनामा माग, सर्वाेच्चकाे आदेश पालना गर, डाेजर आतंक बनेद गर जस्ता माग राख्दै प्रदर्शन गरिरहेका प्रभावित परिवारहरूले पत्रकारहरूलाई धम्कीपूर्ण भाषा प्रयाेग गर्दै भाैतिक आक्रमणकाे प्रयास गरेका हुन । प्रदर्शनकारीहरूकाे दृश्य खिच्न प्रशासन कार्यालय अगाडिकाे सडक छेउमा रहेकाे माटाेकाे ढिस्काेमा चढेका पत्रकारहरूलाई सडकमा ओर्लिन र नओर्लिए राम्राे नहुने धम्कीपूर्ण भाषा प्रयाेग गरेका थिए । आफूहरूको पक्षमा `नबोलेको´ र `समाचारमा स्थान नदिएको´ भन्दै केही प्रदर्शनकारीहरू आराेप लगाएका थिए । पत्रकारहरूले `तपाईंहरूकाे विषय समेट्नकै लागि यहाँ उपस्थित भएकाे´ बताउँदै सम्झाउन खाेज्दा प्रदर्शनकारीहरूकाे ठूलाे भिड पत्रकारहरूमाथि जाइलागेकाे थियाे । घटनास्थलमा उपस्थित पत्रकारका अनुसार प्रदर्शनकारी समूहले समाचार सम्प्रेषणमा हस्तक्षेप गर्ने उद्देश्यले क्यामेरा र उपकरणतर्फ हात बढाएको तथा अभद्र व्यवहार गरेका हुन । पत्रकारहरूकाे समूहलाई घटनास्थलमा रहेका प्रहरीहरूले सुरक्षा दिएकाे थियाे । प्रेस स्वतन्त्रता र समाचार माध्यमकाे भूमिकामाथि चुनौती देखिने यस्ता घटनाप्रति सम्बन्धित निकायले तुरुन्त ध्यान दिनुपर्ने माग पत्रकारहरूकाे छ ।











