काँग्रेस महामन्त्री शर्मा भन्छन्–विधानअनुसार अघि बढ्दा पार्टी फुट्दैन, एकढिक्का रहन्छ
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विधानअनुसार अघि बढ्दा पार्टी विभाजित नहुने भन्दै पार्टी फुट्छ कि भनेर आशंका नगर्न कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ । शुक्रवार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले पार्टीभित्र एकताको विषयमा उठेका आशंकाहरू निराधार भएको भन्दै पार्टी थप मजबुत र बलियो भएर अघि बढ्ने जिकिर गर्नुभयो । उहाँले वर्तमान राष्ट्रिय परिस्थितिमा काँग्रेसले महाधिवेशनमार्फत नेतृत्व, नीति र दृष्टिकोण तय गर्दै अघि बढ्नुपर्ने आवश्यकताका आधारमा महाधिवेशनको मिति तय गरिएको भएपनि महाधिवेशन गर्न नसकिएको बताउनु भयो । उहाँले निर्वाचनअघि राष्ट्रिय संकल्प गर्नुपर्ने नभए विषेश महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्नुपर्ने विकल्पमा कार्यसम्पदान समिति बैठकमा छलफल हुने बताउनु भयो ।











