महासंकटको डिलमा नेपाली काँग्रेसः निषेध गरिएको ‘डिपार्चर’, अस्तित्वको लडाइँ र ‘समय’
नेपालको लोकतान्त्रिक इतिहासको पर्याय मानिने नेपाली काँग्रेस, आफ्नो स्थापनाको सात दशक भन्दा लामो यात्रामा अनेकौँ आरोह–अवरोह, प्रतिबन्ध र संघर्षका घुम्तीहरू पार गर्दै यहाँसम्म आइपुगेको छ । २००७ सालको क्रान्तिदेखि २०४६ सालको जनआन्दोलन र २०६२÷६३ को गणतान्त्रिक परिवर्तनसम्मको नेतृत्व गरेको यो पार्टीले वाह्य शत्रुहरूसँग लड्दा कहिल्यै हार मानेन । तर विडम्बना नै भन्नुपर्छ सन् २०२६ (२०८२ साल) को प्रारम्भिक बिन्दुमा आइपुग्दा यो ऐतिहासिक दल आफैँभित्रको अन्तरविरोध, अविश्वास र शक्ति–संघर्षको दलदलमा यसरी फसेको छ कि, जहाँबाट निस्कने बाटो अत्यन्तै धमिलो देखिन्छ ।











