निर्वाचन विरोधी गतिविधि गर्नेलाई सिधै अदालत पुर्याउँछौँः गृहमन्त्री
अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले ‘प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२’ का लागि देशभर पूर्ण रूपमा सुरक्षाको प्रत्याभुति गरिएको बताउनुभएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, धाँधलीरहित र भयमुक्त वातावरणमा सम्पन्न गर्न सरकारले सम्पूर्ण तयारी पूरा गरेको बताउनुभएको हो । उहाँले मतदातालाई ढुक्क भएर मतदानमा सहभागी हुन अपिल गर्नुभएको हो । गृहमन्त्री अर्यालले निर्वाचन सुरक्षा, मतपत्र तथा मतपेटिका ढुवानीको स्पष्ट मापदण्ड, उश्रृङ्खल गतिविधि गर्नेमाथि कडा कारबाही हुने बताउनु भयो । गृहमन्त्री अर्यालकाअनुसार सरकारले निर्वाचनका लागि ‘एकीकृत सुरक्षा योजना’ पारित गरी सोही आधारमा सुरक्षा संयन्त्रहरू परिचालन गरिसकेको छ । अहिले देशभरका सबै मतदान स्थलहरूमा सुरक्षाकर्मीहरू पुगिसकेका छन् ।











