इरानको ७ दिने प्रस्ताव : होर्मुज स्ट्रेट खोल्न तयार, ट्रम्पद्वारा अस्वीकृत

संवाददाता
२०८३ आश्विन १०, शनिबार १०:१९

न्यूयोर्क — इरानले अमेरिकालाई स्ट्रेट अफ होर्मुज सात दिनभित्र खोल्ने ठोस प्रस्ताव दिएको छ। संयुक्त राष्ट्रसंघीय महासभाका क्रममा इरानी विदेशमन्त्री अब्बास अरागचीले कतारमार्फत अमेरिकालाई ‘सात दिने योजना’ बुझाएको बताएका हुन्।

प्रस्तावअनुसार अमेरिकाले सहमति जनाएको ४-५ दिनभित्र इरानी बन्दरगाहमाथिको नौसैनिक नाकाबन्दी हटाउने, इरानी तेलमाथिको प्रतिबन्ध खुकुलो पार्ने, फ्रिज गरिएका इरानी सम्पत्ति फुकुवा गर्ने र लेबनानसहित सबै मोर्चामा युद्धविराम गर्नुपर्नेछ। छैटौँ दिन स्ट्रेट खुल्नेछ भने सातौँ दिन दुई देशबीच वार्ता सुरु हुनेछ।

अरागचीले भने, ‘अमेरिकी पक्ष गम्भीर भएर सम्झौतामा आए होर्मुज स्ट्रेट खोल्न सबै तयारी पूरा छ। अब निर्णय अमेरिकाको हातमा छ।’ उनले आणविक कार्यक्रममा भने इरानले कुनै लचकता नदेखाउने स्पष्ट पारे।

तर वाल स्ट्रिट जर्नलका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो प्रस्ताव अस्वीकार गरेका छन्। प्रतिवेदनअनुसार ट्रम्पले सहयोगीहरूलाई नोभेम्बरको मध्यावधि चुनावपछि बमबारी पुनः सुरु हुने अपेक्षा रहेको बताएका छन्।

गत फेब्रुअरीमा अमेरिका र इजरायलले इरानमाथि हवाई हमला गरेपछि सुरु भएको सात महिने युद्धमा इरानले विश्वको झण्डै २० प्रतिशत तेल तथा ग्यास ओसार हुने होर्मुज स्ट्रेट अवरुद्ध गरेको थियो, जसले विश्व अर्थतन्त्रमा गम्भीर असर पारेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*