अविरल वर्षा : देशभर बाढी-पहिरोको वितण्डा, ६ को मृत्यु

संवाददाता
२०८३ आश्विन १०, शनिबार २२:१२

काठमाडौं । अविरल वर्षाका कारण देशभर बाढी-पहिरोको प्रकोप फैलिएको छ । असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपदमा परी हालसम्म ६ जनाको मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । मृत्यु हुनेमा बागमती प्रदेशमा दुई, लुम्बिनीमा दुई, गण्डकीमा एक र कर्णाली प्रदेशमा एक जना रहेका छन् ।

विपदमा परी दुई जना घाइते भएका छन्, जसको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । यस अवधिमा विभिन्न स्थानबाट ४०७ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

पश्चिम नेपालमा भारीदेखि अति भारी वर्षा भइरहेकाले बाढी-पहिरोको जोखिम उच्च रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पछिल्लो २४ घण्टामा पाल्पाको अर्चलेमा २०८ मिलिमिटरभन्दा बढी वर्षा मापन भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा ‘सुन्तला’ र ‘रातो’ रङको चेतावनी जारी गरिएको छ ।

नारायणी नदीमा रहेको गण्डक ब्यारेजमा पानीको प्रवाह २ लाख ७३ हजार क्युसेक पुगेको छ । बहाव बढेपछि ब्यारेजका सबै ढोका खोलिएका छन् र नहरमा पानी बन्द गरिएको छ । सुस्ताका केही जमिन डुबानमा परेका छन् ।

कोशी ब्यारेजमा पानीको बहाव ३ लाख १६ हजार ७९६ क्युसेक पुगेको छ । बढ्दो बहावसँगै ब्यारेजका ४३ वटा ढोका खोलिएका छन् र जोखिमको अवस्थालाई ‘अत्यन्त खतरनाक’ बताइएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार रातिदेखि वर्षाको प्रभाव घट्दै जाने र सोमबारबाट देशका अधिकांश क्षेत्रमा मौसम सुधार हुने पूर्वानुमान गरिएको छ । बाढी-पहिरोको जोखिममा रहेका क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*