वर्षा रोकिएपछि राजमार्ग खुल्ने क्रममा — नारायणगढ–मुग्लिन खुल्यो, पृथ्वी राजमार्ग दिउँसोसम्म खुलाउने लक्ष्य
काठमाडौं । वर्षा रोकिएसँगै बाढी र पहिरोका कारण अवरुद्ध भएका देशका प्रमुख राजमार्ग खुलाउने काम तीव्र पारिएको छ । आज दिउँसोसम्ममा काठमाडौं जोड्ने मुख्य सडकहरू सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम भइरहेको छ ।
बुधबारदेखि परेको अविरल वर्षाका कारण राजधानी छिर्ने जीवनरेखा मानिने पृथ्वी राजमार्ग र बीपी राजमार्गसहित देशभरका दर्जनौं सडकखण्ड अवरुद्ध भएका थिए । आइतबारदेखि मौसममा सुधार आएसँगै नारायणगढ–मुग्लिन सडकखण्ड खुलाइएको छ । नाम्सीखोलामा थुप्रिएको पहिरो हटाएपछि दिउँसो १२ः१५ बजेदेखि सडक सञ्चालनमा आएको सडक डिभिजन कार्यालय चितवनले जनाएको छ ।
आइतबार साँझ धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० पानीधारामा ठूलो ढुंगासहित पहिरो खसेपछि पृथ्वी राजमार्ग पुनः दुईतर्फी अवरुद्ध भएको छ । राति काम गर्न जोखिमपूर्ण भएकाले रोकिएको पहिरो पन्छाउने कार्य सोमबार बिहानैदेखि सुरु गरिएको धादिङ प्रहरीले जनाएको छ । पानीधाराको अवरोध हट्नासाथ काठमाडौं आउजाउ गर्ने मुख्य बाटो सहज हुने प्रहरीको भनाइ छ ।
पृथ्वी राजमार्गको मलेखु–मुग्लिन सडकखण्डमा विभिन्न ११ स्थानमा पहिरो खसेको छ । कृष्णभिर, चौकीभीर, शीलतबजार, फिस्लिङ, चुम्लिङटार, धारापानी, घोप्टेभीर र सिमलधारालगायतका स्थानमा पहिरो खसेर सडक अवरुद्ध छ । कृष्णभिर क्षेत्रको सडकको अवस्था जाँच गरेर मात्रै पूर्ण रूपमा सवारी सञ्चालनको निर्णय गरिने प्रहरीले जनाएको छ ।
बाढीपहिरोका कारण कान्ति लोकपथ, कालीगण्डकी करिडोर, बागलुङ–बेनी सडक, तमोर करिडोरअन्तर्गत मूलघाट–फिदिम, दाङ–सल्यान जोड्ने राप्ती राजमार्ग, कर्णाली राजमार्ग तथा भालुबाङ–चकचके–लिवाङ सडकखण्डका विभिन्न स्थानमा समेत पहिरो खसेका छन् । ती सडकखण्डमा पहिरो हटाउने तथा आवश्यक स्थानमा डाइभर्सन निर्माण गरेर यातायात सुचारु गर्ने प्रयास भइरहेको छ ।
यात्रुलाई सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरिएको छ ।











