गण्डकीमा बाढी-पहिरोको कहर : २१ जनाको ज्यान गयो
पोखरा । असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण गण्डकी प्रदेशका विभिन्न जिल्लामा आएको बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्बाट हालसम्म २१ जनाको ज्यान गएको प्रदेश सरकारले जनाएको छ ।
बागलुङमा मात्र १२ जनाको मृत्यु भएको छ भने १ जना अझै बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार पछिल्लो तीन दिनयता विभिन्न स्थानमा पहिरोले घर पुरिँदा यो क्षति भएको हो — शनिबार ताराखोलामा १, आइतबार तमानखोलामा ४ (१ बेपत्ता), निसीखोलामा ५ र ताराखोला–५ सिपमा २ जनाको मृत्यु भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको असोज ११ को तथ्यांकअनुसार देशभर १२ जनाको मृत्यु र ७ जना बेपत्ता थिए । विपद् पोर्टलमा असोज ८ देखि १२ सम्म देशभर २८५ वटा पहिरो दर्ता भएका छन् । राष्ट्रिय तथ्यांक अद्यावधिक हुने क्रममा छ ।
बाढी तथा पहिरोका कारण गण्डकीमा ११ वटा झोलुङ्गे पुल, ६ वटा पक्की पुल र ४३ वटा सडकखण्ड अवरुद्ध भएका छन् । अवरुद्ध सडक सञ्चालनमा ल्याउन काम भइरहेको छ ।
उद्धार कार्यलाई तीव्र बनाउन नेपाली सेनाको समन्वयमा तीन वटा हेलिकप्टर परिचालन गरिएको छ । हिजो र आज गरी हेलिकप्टरमार्फत १४३ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रदेश सरकारले जनाएको छ ।











