पहिरोले अवरुद्ध राजमार्ग, सवारी ठप्प
चितवन । अविरल वर्षाका कारण खसेका पहिरोले नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्ग अवरुद्ध भएका छन् ।
पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिन सडकखण्डका ११ स्थानमा ठूलो–साना पहिरो खसेका छन् । कृष्णभीर र चौकीभीरमा ठूलो पहिरोले सडक पूर्णरुपमा अवरुद्ध भएको छ भने बेनिघाटको गोमती खोलामा पहिरोले सडक एकतर्फी मात्र सञ्चालनमा छ ।
नारायणगढ–मुग्लिन सडकखण्डमा नाम्सीखोला पुलमाथि खसेको लेदोसहितको पहिरो हटाएर यातायात सुचारु गरिएको थियो, तर निरन्तर वर्षाले फेरि पहिरोको जोखिम उच्च छ ।
सडकमा खसेको पहिरो पन्छाउने काम जारी छ, तर निरन्तर वर्षाले चुनौती थपेको छ । यात्रा आवश्यक परेमा सडकको ताजा अवस्था बुझेर मात्र निस्कन प्रहरीले आग्रह गरेको छ ।











