पहिरो र वर्षामा ३० जनाको ज्यान गयो : १९ सय परिवार प्रभावित
काठमाडौं । भारी वर्षा र पहिरोको नयाँ लहरमा नेपालमा करिब ३० जनाको ज्यान गएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत हप्ताको अन्त्यदेखि १९ सयभन्दा बढी परिवार प्रभावित भएका छन् भने २४० भन्दा बढी घर क्षतिग्रस्त भएका छन् ।
पहिरोले सडक, भवन र पुल बगाएको छ । विभिन्न क्षेत्रका समुदाय शोकमा डुबेका छन् ।
अन्नपूर्ण चक्रपथमा पदयात्रा गरिरहेका सयौं पर्यटकले यात्रा बीचैमा रोक्नुपरेको छ । मनाङ र मुस्ताङबाट धेरैलाई हेलिकप्टरबाट उद्धार गरिएको छ ।
भारी हिमपातका कारण याक खर्कमा फसेका बेलायती पर्यटक जेक स्टेसीले माटो र हिलोमा आफ्नै बाटो बनाएर फर्कनुपरेको बताएका छन् ।











