अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान : विश्व बैंकसँग पुनर्निर्माण र ग्रे लिस्ट बहिर्गमन छलफल
काठमाडौं । अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान गरेका छन् । अक्टोबर ५–६ (असोज १९–२०) मा हुने यस भ्रमणका क्रममा द्विपक्षीय सहयोग अभिवृद्धि, पुनर्निर्माण, एफटीएफ ग्रे लिस्टबाट बहिर्गमन तथा बृहत् आर्थिक सुधारका विषयमा छलफल हुनेछ ।
भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले विश्व बैंक, अमेरिकी अर्थ मन्त्रालय र यूएस इन्टरनेसनल डेभलपमेन्ट फाइनान्स कर्पोरेसनका उच्च पदस्थ अधिकारीका साथै निजी क्षेत्रका अग्रणी लगानीकर्ताहरूसँग उच्चस्तरीय भेटवार्ता गर्नेछन् ।
भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण क्षति पुगेका भौतिक तथा आर्थिक पूर्वाधारको पुनर्निर्माणका लागि थप सहायता परिचालनका विषयमा पनि छलफल हुनेछ ।
सडक, विद्युत् प्रसारण लाइनलगायत महत्त्वपूर्ण पूर्वाधारमार्फत रोजगारी र आर्थिक अवसर सिर्जना गर्न विकास साझेदार एवं निजी क्षेत्रको लगानी अभिवृद्धि गर्ने पहल भ्रमणको मुख्य उद्देश्य हो ।











