१३ देशका प्रस्तावित राजदूतको सुनुवाइ सुरु : उजुरीमाथि छलफल हुँदै
काठमाडौं । संघीय संसदको संसदीय सुनुवाइ समितिको बैठक आज बसेको छ । बैठकमा भारत, चीन र अमेरिकासहित १३ देशका लागि प्रस्तावित राजदूतहरूविरुद्ध परेका उजुरी खोल्ने र उनीहरूले पेस गरेको कार्ययोजना सदस्यहरूलाई वितरण गर्ने कार्यसूची रहेको छ ।
यसअघि असोज ८ गते बसेको बैठकले सुनुवाइ प्रक्रिया अगाडि बढाउँदै उजुरी आह्वान गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को असोज २ गतेको बैठकले १३ देशका लागि नयाँ राजदूतहरूको नाम सिफारिस गरेको हो ।
सिफारिस गरिएकामा भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, अमेरिकाका लागि चिरनजंग थापा, बेलायतका लागि गौरवशमशेर जबरा, जापानका लागि जिज्ञनकुमार थापा रहेका छन् । त्यस्तै इजरायल, स्पेन, जर्मनी, ओमान, मलेसिया, दक्षिण कोरिया, श्रीलंका र साउदी अरेबियाका लागि पनि नाम सिफारिस गरिएको छ ।
प्रस्तावित १३ राजदूतविरुद्ध पाँचवटा उजुरी परेका छन् । संवैधानिक व्यवस्थाअनुसार संसदीय सुनुवाइबाट अनुमोदन भएपछि सम्बन्धित देशबाट सहमति प्राप्त गर्ने प्रक्रिया अघि बढ्नेछ र त्यसपछि राष्ट्रपतिबाट राजदूत नियुक्त हुनेछन् ।











