बाढी पहिरोले देशका विभिन्न सडक अवरुद्ध : कहीँ पूर्ण बन्द, कहीँ एकतर्फी
काठमाडौं । बाढी तथा पहिरोका कारण देशका विभिन्न स्थानका प्रमुख सडक तथा राजमार्ग प्रभावित भएका छन् । नेपाल प्रहरीका अनुसार रसुवा, म्याग्दी, मनाङ र नवलपरासी पूर्वका सडकमा अहिले पनि आवागमन प्रभावित छ ।
रसुवाको मुख्य राजमार्ग बाढीका कारण पूर्ण रूपमा अवरुद्ध छ । गत भदौ १० गते आएको बाढीपछि बन्द रहेको उक्त सडकखण्ड अझै सञ्चालनमा आउन सकेको छैन । प्रहरीले अर्को सूचना नभएसम्मका लागि सडक बन्द रहने जनाएको छ ।
म्याग्दीको बेनी–जोमसोम सडकखण्डअन्तर्गत रघुगंगा गाउँपालिका–२ बैसरीमा असोज १० गते पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध छ । मनाङको खाङसार–बेंसीसहर सडकखण्ड पनि असोज ९ गते रातिको बाढीले पूर्ण रूपमा बन्द छ ।
यता, नवलपरासी पूर्वको कालीगण्डकी कोरिडोरअन्तर्गत बौदिकाली गाउँपालिका–३ जन्तीमा असोज १४ गते पहिरो खसेपछि सडक एकतर्फी सञ्चालनमा छ । उक्त खण्डमा साना सवारीसाधन चलिरहे पनि ठूला सवारीसाधन चल्न सकेका छैनन् । अवरुद्ध सडक खुलाउने प्रयास जारी रहेको र यात्रामा निस्कनुअघि सडकको अवस्था बुझेर मात्र यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।











