दसैंमा देशभर रुट परमिट खुला : असोज २३ देखि अग्रिम टिकट बुकिङ

संवाददाता
२०८३ आश्विन २२, बिहीबार ०९:४६

काठमाडौं । दसैंलाई लक्षित गर्दै सरकारले सार्वजनिक यातायात व्यवस्थापन सहज बनाउन विभिन्न निर्णय गरेको छ । यातायात व्यवस्था विभागमा बसेको बैठकले यात्रुवाहक सार्वजनिक सवारीका लागि देशभर रुट परमिट खुला गर्ने र अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरेको हो ।

बैठकको निर्णयअनुसार असोज २३ गतेदेखि मध्यम तथा लामो दूरीका सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरिनेछ । घटस्थापना अर्थात् असोज २५ गतेदेखि पूर्णिमाको पर्सिपल्ट कात्तिक १० गतेसम्म यात्रुवाहक सार्वजनिक सवारीका लागि नेपालभर लामो तथा मध्यम रुट परमिट खुला गरिनेछ ।

यात्रु आवागमन सहज बनाउन घटस्थापनादेखि पूर्णिमासम्म नारायणगढ–काठमाडौं सडकखण्डमा ट्रेलरलगायत ठूला सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय पनि भएको छ । खाद्य सामग्री, औषधि, फलफूल तथा अन्य अत्यावश्यक सामग्री बोकेका सवारीसाधन भने उक्त रोकबाट बाहिर रहनेछन् ।

यस वर्ष करिब १५ लाख यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ । यात्रुसँग तोकिएभन्दा बढी भाडा असुल गर्ने वा टिकटमा कालोबजारी गर्ने व्यवसायीमाथि कारबाही गरिने विभागले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*