मृतकका परिवारलाई १ लाख क्षतिपूर्ति दिने निर्णय : मुख्यमन्त्री

संवाददाता
२०८३ आश्विन २२, बिहीबार ११:३१

हेटौंडा । बागमती प्रदेश सरकारले विपद्का कारण ज्यान गुमाएकाका परिवारलाई प्रतिव्यक्ति रु. १ लाख क्षतिपूर्ति दिने निर्णय गरिसकेको मुख्यमन्त्रीले बताएका छन् ।

आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयगत विकास समस्या समाधान समितिको बैठकमा धारणा राख्दै मुख्यमन्त्रीले बागमती प्रदेशमा विपद्का कारण ठूलो धनजनको क्षति भएको र धेरै नागरिक बेपत्ता भएको बताए । बेपत्ता भएका व्यक्तिहरूको राहत तथा क्षतिपूर्तिका लागि ४५ दिनभित्र प्रक्रिया अघि बढाउने गरी सङ्घीय क्याबिनेटबाट निर्णय भएको उनले जानकारी दिए ।

उद्धार, उपचार तथा खाद्यान्न वितरणको काम सम्पन्न भइसकेकाले अब आन्तरिक मामिला मन्त्रालयको संयोजकत्वमा पुनर्स्थापना र पुनर्निर्माणको काम सुरु गरिने मुख्यमन्त्रीले बताए । बजेटको सीमा रहेकाले अन्य मन्त्रालयका गैर-प्राथमिक कार्यक्रमको बजेट कटौती गरी विपद् प्रभावित क्षेत्रको पुनर्स्थापनामा परिचालन गरिने भएको छ ।

मुख्यमन्त्रीले समस्याग्रस्त सहकारीहरूको सम्पत्ति लिलाम गरी बचतकर्ताको रकम फिर्ता गराउने प्रक्रिया अघि बढाउन र सहकारी सञ्चालक वा कसैको दबाबमा नपरी कानुन बमोजिम निर्धक्क भएर काम गर्न कर्मचारीहरूलाई निर्देशन दिए । राजनीतिक नेतृत्व अस्थायी हुने र कर्मचारी संयन्त्र नै स्थायी सरकार भएकाले सम्पूर्ण कर्मचारीले इमानदारी र कर्तव्यनिष्ठ भएर काम गर्नुपर्ने उनले बताए ।

त्यस्तै, लागुऔषध सेवन गरी सवारी चलाउने चालकको लाइसेन्स खारेज गर्ने कानुनी व्यवस्था गरिने र प्रदेशमै फोरेन्सिक ल्याब स्थापना भइसकेकाले ल्याब रिपोर्ट १५ दिनभित्रै आउने मुख्यमन्त्रीले बताए । बैठक आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयका सचिव महेश भट्टराईको अध्यक्षतामा बसेको थियो । बैठकमा प्रदेश नीति तथा योजना आयोगका सदस्य डा. दीपकविक्रम थापा क्षेत्री, बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी दीपक रेग्मी, सञ्चार रजिस्ट्रार रेवती सापकोटा, सशस्त्र प्रहरीका डीएसपी प्रकाश पौडेल लगायतको सहभागिता थियो भने महाशाखा प्रमुख पदम ओझाले प्रस्तुतिकरण गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*