हेटौँडा इन्डोर लिग–२०२६ शुक्रबारदेखि सुरु : १२ टोली उपाधिका लागि भिड्ने
हेटौँडा । दशैँको अवसरमा माया स्पोर्ट्स सेन्टरको आयोजनामा शुक्रबारदेखि हेटौँडा इन्डोर लिग–२०२६ सुरु हुने भएको छ । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न जिल्लाका १२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
हेटौँडास्थित माया स्पोर्ट्स सेन्टरमा हुने प्रतियोगितामा काठमाडौँ, वीरगञ्ज, चितवन, सर्लाही, बारा र हेटौँडालगायतका स्थानबाट टोली सहभागी हुनेछन् । सहभागी १२ टोलीलाई चार समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् ।
प्रतियोगिताको विजेताले नगद एक लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी तथा मेडल प्राप्त गर्नेछन् ।
असोज २३ गते शुक्रबार बिहान ८ बजे माया स्पोर्ट्स सेन्टर र भायानेट कम्युनिकेसनबीचको खेलबाट प्रतियोगिता सुरु हुनेछ । पहिलो दिन सात खेल सञ्चालन हुनेछन् ।
त्यस्तै, असोज २४ गते शनिबार समूह चरणका बाँकी खेलसँगै चारवटा क्वार्टरफाइनल खेल हुनेछन् । क्वार्टरफाइनलका खेल दिउँसो २ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताका खेलहरूको प्रत्यक्ष प्रसारण हेटौँडाको एकमात्र स्याटेलाइट टेलिभिजन नेशनल गोल्ड एचडी टिभीले गर्ने भएको छ ।
माया स्पोर्ट्स सेन्टरका सञ्चालक विप्लव पौडेलले विभिन्न जिल्लाका क्रिकेट खेलाडीलाई एउटै मैदानमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्दै खेलकुदप्रतिको आकर्षण बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए ।
उनका अनुसार प्रतियोगिताले खेलाडीबीच अनुभव आदानप्रदान, आपसी सद्भाव र स्वस्थ प्रतिस्पर्धाको विकासमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।











