रोजगारी नै देशको पहिलो समस्या, हरित क्रान्तिमार्फत समृद्ध नेपाल बनाउँछौँ : कुलमान घिसिङ

संवाददाता
२०८३ कार्तिक ९, आईतवार १३:२४

रामेछाप । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देशको पहिलो समस्या रोजगारी रहेको बताएका छन् । रामेछापको उमाकुण्ड गाउँपालिकाको केन्द्र प्रीतिमा आयोजित पार्टीको गाउँपालिका कमिटी पुनर्गठन कार्यक्रमलाई सम्बोधन गर्दै उनले रोजगारीको समस्या समाधान गर्ने रोडम्याप आफ्नो पार्टीले बनाएको बताए ।

हरित क्रान्तिमार्फत देशलाई समृद्ध बनाउने आफ्नो पार्टीको लक्ष्य रहेको उनको भनाइ थियो । यसले वातावरण मात्र नभई आर्थिक र सामाजिक हिसाबले पनि नेपाललाई समुन्नत बनाउन सकिने उनले बताए ।

धेरै वादको कुरा गरेर देश अघि नबढ्ने बताउँदै उनले आर्थिक रूपान्तरणको मध्यमार्गी बाटो नै उज्यालो नेपालको वैचारिक बाटो भएको प्रस्ट पारे । आफूहरू कुनै पनि अतिवादमा नजाने र सबैलाई समेटेर देशको समुन्नति गर्न लागेको उनले बताए ।

आर्थिक रूपान्तरण भनेको केही मानिसलाई धनी बनाउनु नभई सबैको प्रगतिको बाटो बनाउनु रहेको उनको धारणा थियो । तल्लो वर्गका नागरिकलाई समानताको हिसाबमा ल्याउने पार्टीको परिकल्पना रहेको उनले सुनाए ।

सुशासन, समृद्धि र सामाजिक न्यायको तीनखम्बे नीति लिएर अघि बढेको उल्लेख गर्दै उनले आफ्नो पार्टीको सरकार बनेपछि ५ वर्षभित्र शिक्षा र स्वास्थ्य निःशुल्क गर्ने दाबी गरे । २ सय युनिटसम्म बिजुली निःशुल्क गर्न सकिने पनि उनले बताए ।

प्रत्येक नेपालीलाई निःशुल्क विद्युत् शेयर दिने योजना पनि उनले सुनाए — नेपालमा बस्नेलाई कम्तीमा एक हजार कित्ता र विदेशमा काम गरेर रेमिट्यान्स पठाउनेलाई कम्तीमा दुई हजार कित्ता शेयर दिन सकिने, जसले पेन्सनजस्तै काम गर्ने उनको भनाइ थियो ।

२० वर्षमा करिब ४० हजार मेगावाट विद्युत् उत्पादन गर्न सकिने र त्यसबाट ३० हजार मेगावाट भारत र बंगलादेशमा बिक्री गरेर २० देखि ३० खर्ब रुपैयाँ आर्जन गर्न सकिने उनले बताए । ग्यास र पेट्रोलको साटो स्वदेशी बिजुली प्रयोग गर्दा ठूलो रकम जोगिने उनको तर्क थियो ।

हरित हाइड्रोजन उत्पादन सुरु भइसकेको र यसलाई सवारीसाधनदेखि मल उत्पादनसम्म प्रयोग गर्न सकिने उनले बताए । पानीलाई कृषि, हरित पर्यटन र युवालाई डिजिटल अर्थतन्त्र तथा रोजगारीसँग जोड्ने आधारका रूपमा उनले प्रस्तुत गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*