फेरिचेमा दुई हेलिकोप्टर ठोक्किए: एक विदेशी पर्यटकको ज्यान गयो, एक घाइते
सोलुखुम्बुको फेरिचे हेलिप्याडमा मंगलबार बिहान अवतरण गर्ने क्रममा दुई हेलिकोप्टर आपसमा ठोक्किँदा एक विदेशी पर्यटकको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन्।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार फिस्टेल एयर र डायनेस्टी एयरका हेलिकोप्टर अवतरणका क्रममा तिनका पंखा एकआपसमा ठोक्किएपछि दुर्घटना भएको हो। प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले प्रारम्भिक जानकारीअनुसार पंखा जुधेर दुर्घटना भएको र थप विवरण संकलन भइरहेको बताएका छन्।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङले दुर्घटनामा एक विदेशी नागरिकको ज्यान गएको र एक जना घाइते भएको पुष्टि गरेका छन्। सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारीले पनि फेरिचे हेलिप्याडमा दुर्घटना भएको जानकारी दिएका छन्।
मृतकको पहिचान र घाइतेको अवस्थाबारे विस्तृत विवरण आउन बाँकी छ। दुर्घटनाको कारणबारे सम्बन्धित निकायले थप अनुसन्धान गरिरहेको छ।











