ठगी केन्द्रबाट ८६० नेपालीको उद्धार, प्रलोभनमा नपर्न परराष्ट्र मन्त्रालयको आग्रह
काठमाडौं । परराष्ट्र मन्त्रालयले दक्षिणपूर्वी एसियामा सञ्चालित अनलाइन ठगी केन्द्रबाट हालसम्म ८६० जना नेपाली नागरिकको उद्धार गरिसकेको जनाएको छ। मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले सो जानकारी दिएका हुन्।
कम्बोडिया, म्यानमार, लाओस र थाइल्यान्डको सीमा क्षेत्रमा सञ्चालित विभिन्न अनलाइन ठगी केन्द्रमा नेपालीहरू फस्ने क्रम अझै पूर्ण रूपमा नरोकिएको उनले बताए। आकर्षक रोजगारीको प्रलोभनमा परेर ती केन्द्रमा पुगेका नेपालीहरूलाई ठगीसम्बन्धी काममा संलग्न हुन बाध्य पारिने गरेको छ।
उद्धार गरिएका तथा अलपत्र परेका नेपाली नागरिकलाई सुरक्षित रूपमा स्वदेश फर्काउन सम्बन्धित मुलुकका सरकारी निकाय र नेपाली कूटनीतिक नियोगमार्फत समन्वय भइरहेको मन्त्रालयले जनाएको छ।
पीडित र उनीहरूका आफन्तले परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभाग र सम्बन्धित नेपाली दूतावासमा सम्पर्क गरिरहेको मन्त्रालयले बताएको छ। मन्त्रालयले आकर्षक प्रस्तावको प्रलोभनमा नपर्न सबैलाई आग्रह गरेको छ।











