सबै राजनीतिक शक्ति समेट्ने व्यवस्था आवश्यक : कमल थापा
मलंगवा । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता कमल थापाले राजादेखि सबै राजनीतिक शक्तिलाई समेट्ने व्यवस्था आवश्यक रहेको बताएका छन्।
सर्लाही जिल्ला कार्यसमितिले बिहीबार साँझ जिल्ला सदरमुकाम मलंगवास्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनले कसैलाई पनि बाहिर नराखी सबै राजनीतिक शक्तिलाई समेट्न सक्ने प्रणालीको आवश्यकता औँल्याएका हुन्।
उनले राष्ट्रिय मेलमिलाप, सुशासन र राजनीतिक स्थायित्व आवश्यक रहेको बताउँदै लोकतन्त्रलाई बलियो बनाउने र जनताको चाहनाअनुसार आर्थिक समृद्धि हासिल गर्ने कुरामा जोड दिए। धर्मनिरपेक्षता र गणतन्त्रको बाटोमा मात्रै अघि बढिरहे नयाँ राजनीतिक शक्तिहरू पनि असफल हुन सक्ने उनको चेतावनी थियो।
उनले नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई विगतका कमजोरी सच्याउन आग्रह गरे भने राष्ट्रिय स्वतन्त्र पार्टी तथा त्यसका नेता बालेन्द्र शाह र रवि लामिछानेलाई पुराना दलका कमजोरीबाट सिकेर सबै नेपालीलाई समेट्ने नयाँ प्रणालीका लागि काम गर्न सुझाव दिए। वि.सं. २०३३ मा नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइराला निर्वासनबाट राष्ट्रिय मेलमिलापको नीतिसहित फर्किएको स्मरण गर्दै उनले आज पनि राष्ट्रिय मेलमिलाप आवश्यक रहेको बताए।
सबै राजनीतिक शक्तिबीच सहयोग, सद्भाव र सहकार्य हुनुपर्ने बताउँदै उनले पार्टी संगठन बलियो बनाउन र सक्रिय सदस्यता बढाउन नेता तथा कार्यकर्तालाई निर्देशन दिए।











