महासभामा प्रधानमन्त्री बालेन शाह : ‘पशुपतिनाथले विश्वको कल्याण गरून्’
न्युयोर्क — प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गरेका छन्। बिहीबार न्युयोर्कस्थित राष्ट्रसंघ मुख्यालयमा भएको महासभाको साधारण बहसमा उनले नेपालको धारणा राखेका हुन्। प्रधानमन्त्रीका रूपमा यो उनको पहिलो महासभा सम्बोधन हो। गत मार्चमा प्रधानमन्त्रीको कार्यभार सम्हालेयता यो उनको पहिलो विदेश भ्रमण पनि हो।
सम्बोधनको केन्द्रमा जलवायु न्याय रह्यो। गत अगस्ट २६ मा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीको प्रसंग उठाउँदै प्रधानमन्त्री शाहले भने — विश्वको हरितगृह ग्यास उत्सर्जनमा नेपालको हिस्सा ०.१ प्रतिशतभन्दा कम छ, तर हिमाल पग्लिने र नदीहरू अनिश्चित बन्ने मार नेपालले खेपिरहेको छ। बाढीपछिको पुनर्निर्माणमा करिब ४ अर्ब ७० करोड डलर लाग्ने अनुमान उनले सुनाए।
उनले छ बुँदे आह्वान गरे — राहत, पुनर्स्थापना, पुनर्निर्माणसँगै जिम्मेवारी, क्षतिपूर्ति र उत्थानशीलता। “युद्धका लागि त्रुटिरहित रसद व्यवस्था बनाउन सक्ने विश्वले खानाका लागि भने त्यो व्यवस्था बिगारेको छ,” उनले भने।
जलवायु संकट सामना गर्न नेपाल, भारत र चीन सम्मिलित हिमाली जलवायु उत्थानशील संयन्त्रको प्रस्ताव पनि उनले अघि सारे — जसमा उपग्रह तथ्यांक साझेदारी, हिमताल अनुगमन, पूर्वचेतावनी प्रणाली र सीमा-पार विपद् प्रतिकार्य समन्वय हुनेछ।
सम्बोधनको अन्त्यमा उनी अंग्रेजीबाट नेपालीमा फर्किए। “भगवान पशुपतिनाथले विश्वको कल्याण गरून्। यो विश्व बुद्धले देखाएको बाटोमा हिँड्न सकून्। नमस्ते,” भन्दै उनले सम्बोधन टुंग्याए।
पूर्वमन्त्री गोकुल बाँस्कोटा, पत्रकार सुधीर शर्मा र विश्लेषक जेपी गुप्तालगायतले सम्बोधनको प्रशंसा गरेका छन्।











