बाढी-पहिरो : देशभरका सडक अस्तव्यस्त, सप्तरीमा ५०० घर डुबान

संवाददाता
२०८३ आश्विन ११, आईतवार ०८:१९

काठमाडौं । बाढी, पहिरो तथा खोलाको बहाव बढेपछि देशभरका विभिन्न राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन् । सडक विभागका अनुसार केही सडकखण्ड पूर्ण रूपमा बन्द छन् भने केहीमा एकतर्फी तथा सीमित रूपमा यातायात सञ्चालन भइरहेको छ ।

नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोका कारण बन्द गरिएको छ । निरन्तर पहिरो गइरहेपछि यात्रुको सुरक्षाका लागि अर्को सूचना नभएसम्म सवारी आवागमन बन्द गरिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । पृथ्वी राजमार्गको चितवन–धादिङ खण्ड पनि पहिरोका कारण अवरुद्ध छ ।

पृथ्वी राजमार्गमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ । कृष्णभीर, चौकीभीर, जवाङ खोला, फिस्लिङ, बाँगे र चालिसेलगायतका स्थानमा सडक अवरुद्ध रहेको सडक विभागले जनाएको छ ।

बीपी राजमार्गअन्तर्गत माम्ती, दाउन्ने–कालोपुल, चारसयबेसी, कटुन्जे र चौकीडाँडालगायतका क्षेत्रमा सडक अवरुद्ध छ । थप क्षति नभएमा भोलि साँझसम्म सडक सञ्चालनमा ल्याउने लक्ष्य रहेको विभागले जनाएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत भाइरलडाँडामा सडक अवरुद्ध भएको छ भने कालीगण्डकी करिडोरमा लामो दूरीका सवारीमा रोक लगाइएको छ । राप्ती राजमार्ग र तमोर करिडोरका केही खण्ड पनि प्रभावित छन् ।

सप्तरीमा बाढीका कारण करिब ५०० घर डुबानमा परेका छन् । हनुमाननगर कङ्कालिनी नगरपालिकामा ४८३ र तिलाठी कोइलाडी गाउँपालिकामा १७ घर डुबानमा परेका छन् । दुई हजारभन्दा बढी मानिस प्रभावित भएका छन् र स्थानीय तहले तत्काल राहतको व्यवस्था गरेको छ ।

बागलुङमा दुई राष्ट्रिय राजमार्गसहित दर्जनौँ सडक अवरुद्ध हुँदा सदरमुकामसँग विभिन्न ग्रामीण बस्तीको यातायात सम्पर्क विच्छेद भएको छ ।

सडक विभागले पहिरो तथा बाढी प्रभावित सडकमा यात्रा गर्दा सावधानी अपनाउन र सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*