बूढीगण्डकीमा भीषण बाढी : दुई पुल बगायो, होटल र घरहरू बगे

संवाददाता
२०८३ आश्विन २५, आईतवार ०९:१४

गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित लोक्पा र चुम्लिङबीच पहिरो खसेर बूढीगण्डकी नदी थुनिएपछि तल्लो तटीय क्षेत्रमा भीषण बाढी आएको छ । आइतबार बिहान करिब साढे ५ बजे ठूलो पहिरो खसेर नदी थुनिएको खबर स्थानीय होटल सञ्चालकहरूले प्रहरीलाई दिएका थिए ।

थुनिएको नदीमा पानीको मात्रा बढ्दै जाँदा गेग्रानसहित पानी बग्न थालेपछि तल्लो क्षेत्रमा बाढीको बहाव बढेको प्रहरीले जनाएको छ । नदी पटकपटक थुनिने र खुल्ने भइरहेकाले बाढीको ठूलो झड्काले नदी आसपासको करिब १५० देखि २०० मिटर माथिसम्मको क्षेत्र प्रभावित भएको चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाले बताए ।

बाढीले चुमनुब्री र धार्चे गाउँपालिकामा दुईवटा पुल बगाएको छ । चुमनुब्री–३ स्थित न्याक्चेत र सिर्दिबास बजार जोड्ने झोलुङ्गे पुल र धार्चेको मासीखोलाको पुल बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक आकाश कँडेलले जानकारी दिए ।

बाढीले चुमनुब्रीस्थित न्याकफेदीका होटलहरू बगाएको छ भने घट्टेखोलाका होटलहरूमा पानी पसेको छ । धार्चे गाउँपालिका–३ स्थित सल्लेरीमा घरहरू बगेको खबर प्राप्त भएको प्रहरीले जनाएको छ । जगत, सल्लेरीलगायत तटीय बस्ती तथा बजारमा क्षति पुगेको र केही विद्यालयसमेत बाढीले बगाएको सूचना आएको गाउँपालिकाले जनाएको छ ।

बाढीबाट मानवीय क्षति भए नभएकोबारे अहिलेसम्म आधिकारिक जानकारी प्राप्त भएको छैन । प्रभावित क्षेत्रको अवस्था बुझ्न हेलिकोप्टरबाट हवाई निरीक्षण (रेकी) सुरु गरिएको छ भने उद्धार तथा क्षतिको विवरण सङ्कलनका लागि प्रहरी परिचालन गरिएको छ ।

बाढीको जोखिम कायमै रहेकाले बूढीगण्डकी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन र नदी किनारबाट सुरक्षित स्थानतर्फ जान आग्रह गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*