रात्रिबसमा महिला यात्रुमाथि दुर्व्यवहार, तीन युवक पक्राउ
काठमाडौंबाट महेन्द्रनगर जाँदै गरेको रात्रिबसमा महिला यात्रुमाथि हातपात तथा अभद्र व्यवहार गरेको आरोपमा तीन युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले उनीहरूलाई कात्तिक १९ गते पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा राखेको छ।
प्रहरीका अनुसार गत कात्तिक १७ गते काठमाडौंबाट महेन्द्रनगर आउँदै गरेको महाकाली यातायातको सु.प.प्र. ०२–००१ ख १५६३ नम्बरको रात्रिबसमा घटना भएको हो। काठमाडौंबाटै बस चढेका तीन युवकले धादिङको धार्के पुगेपछि मदिरा सेवन गरेर होहल्ला गर्न थालेका थिए। उनीहरूले बसमा सवार महिला यात्रुलाई लक्षित गर्दै अभद्र व्यवहार र गालीगलौज गरेको प्रहरीले जनाएको छ।
बसभित्र जडान गरिएको सीसीटीभी क्यामेरामा कैद भएको घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि घटना सार्वजनिक भएको थियो। पीडित युवतीले आफूमाथि दुर्व्यवहार भएको भन्दै प्रहरीमा निवेदन दिएपछि कञ्चनपुर प्रहरीले तीनै जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मटैनाका २१ वर्षीय शमिर विष्ट, सोही स्थानका २४ वर्षीय अनिल नाथ र भीमदत्त नगरपालिका–३ तिलकेनीका २१ वर्षीय जीवन बम रहेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार उनीहरूलाई आवश्यक अनुसन्धानका लागि कार्यालयमा राखिएको छ।
प्रहरीले सार्वजनिक सवारीसाधनमा महिला तथा बालबालिकामाथि दुर्व्यवहार गर्ने जोकोहीमाथि कडा कारबाही हुने चेतावनी दिएको छ। यस्तो घटनामा परेमा तुरुन्त प्रहरी वा टोल फ्रि नम्बर १०० मा खबर गर्न प्रहरीले आग्रह गरेको छ।











