युवाको आवाज नसुने लोकतन्त्र संकटमा पर्छ — उपेन्द्र यादव

संवाददाता
२०८३ कार्तिक २१, शुक्रबार १२:५६

सोल — जनता समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले युवापुस्ताको असन्तुष्टि सम्बोधन नगरे लोकतन्त्र संकटमा पर्ने चेतावनी दिएका छन्। दक्षिण कोरियाको राजधानी सोलमा जारी एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (ICAPP) को १३औँ महासभालाई सम्बोधन गर्दै उनले एसियाका युवाहरू नेतृत्व र व्यवस्थाप्रति असन्तुष्ट रहेको र त्यसलाई बेवास्ता गर्नु ठूलो भूल हुने बताए।

महासभा नोभेम्बर ४–७ (कात्तिक १९–२२) सम्म सोलमा चलिरहेको छ, जसमा ३६ देशका झन्डै ९० राजनीतिक दलका प्रतिनिधि सहभागी छन्। ‘बदलिँदो विश्वमा राजनीतिक नेतृत्व: विश्वास पुनर्निर्माण, शान्ति पुनर्स्थापना र मानवता संरक्षण’ विषयमा छलफल भइरहेको छ। यादवले नेपालको Gen Z आन्दोलनलाई युवाको असन्तुष्टिको प्रमाणका रूपमा उल्लेख गर्दै राजनीति नागरिकको अपेक्षा, जनसहभागिता र सुशासनप्रति जवाफदेही हुनुपर्ने बताए।

उनले आतंकवाद, चरमपन्थ र सीमापार अपराधविरुद्ध अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताए। कुनै पनि देश अन्तर्राष्ट्रिय कानुन र विश्वव्यापी मानव गरिमाभन्दा माथि नरहेको उल्लेख गर्दै उनले सामूहिक नेतृत्व, समान साझेदारी र प्रभावकारी अन्तर्राष्ट्रिय सहकार्यमा जोड दिए।

परराष्ट्र नीतिबारे यादवले सार्वभौमसत्ता, भौगोलिक अखण्डता, आन्तरिक सद्भाव र शान्तिपूर्ण सहअस्तित्वप्रति नेपाल प्रतिबद्ध रहेको बताए। नेपालको परराष्ट्र नीति स्वतन्त्रता, असंलग्नता, पारस्परिक सम्मान र राष्ट्रिय हितबाट निर्देशित हुने र ठूला शक्तिबीचको प्रतिस्पर्धामा कुनै पक्ष नलिने उनले स्पष्ट पारे। नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्था र समावेशी बहुपक्षीय सहकार्य नेपालजस्ता विकासशील देशका लागि अपरिहार्य रहेको उनको भनाइ थियो।

जलवायु परिवर्तनबारे उनले नेपालको हरितगृह ग्यास उत्सर्जन नगण्य भए पनि नेपालीले जलवायु संकटको प्रत्यक्ष मार खेपिरहेको बताए — हिमनदी पग्लने, बाढी र पहिरोलगायत विपद्ले जीवन, अर्थतन्त्र र विकासमा गम्भीर असर पारिरहेको छ। ठूला उत्सर्जनकर्ता देशले बढी जिम्मेवारी लिनुपर्ने, जोखिममा रहेका देशले पर्याप्त जलवायु वित्त पाउनुपर्ने र प्रविधि हस्तान्तरण हुनुपर्ने उनले बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*