जनकपुरलाई १६ रनले हराउँदै लुम्बिनीको अपराजित यात्रा जारी

संवाददाता
२०८३ कार्तिक २०, बिहीबार १७:५७

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको नेपाल प्रिमियर लिग (NPL) को पहिलो खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १६ रनले हराउँदै आफ्नो अपराजित यात्रा जारी राखेको छ।

टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनायो। कप्तान रोहित पौडेलले सर्वाधिक ३८ रन बनाए भने निरोशन डिकवेलाले २७, आसिफ शेखले २१ र दिलीप नाथले २१ रनको योगदान दिए। जनकपुरका लागि राहुल यादव र विशाल सुस्लिङले २–२ विकेट लिए।

१५० रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा ८ विकेट गुमाएर १३३ रन मात्र बनाउन सक्यो। कप्तान हरमित सिंहले ३३ रन बनाए भने आदित्य महता ३० रनमा अविजित रहे। सैफ हसनले २८ र तृतराज दासले १८ रन बनाए। लुम्बिनीका लागि डी’आर्सी शर्टले ३ विकेट लिए भने शेर मल्ल र तिलक भण्डारीले २–२ विकेट लिए।

यो जितसँगै लुम्बिनीले ४ खेलबाट ७ अंक जोड्दै अंकतालिकाको शीर्ष स्थान कायम राखेको छ। लुम्बिनीले अहिलेसम्म ३ खेल जितेको छ भने १ खेल नतिजाविहीन भएको छ। जनकपुर भने ५ खेलमा २ जित र ३ हारसहित ४ अंक लिएर चौथो स्थानमा छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*