जापानसँगको खेल वर्षाका कारण नतिजाविहीन, नेपाल समूहविजेता बन्दै क्वाटरफाइनलमा

संवाददाता
२०८३ आश्विन १०, शनिबार १०:४८

नागोया — एसियाली खेलकुद २०२६ अन्तर्गत पुरुष क्रिकेटको समूह ‘ए’ मा शनिबार भएको नेपाल र जापानबीचको खेल वर्षाका कारण नतिजाविहीन भएको छ। वर्षाले प्रभावित खेल १५ ओभरमा झारिएको थियो।

टस हारेर ब्याटिङ गरेको नेपालले १५ ओभरमा ४ विकेट गुमाएर १४९ रन बनायो। सन्दीप जोराले अविजित ५७ र लोकेश बमले अविजित ५२ रनको अर्धशतकीय पारी खेले। जोराले ३२ बलमा ५ चौका र ३ छक्का तथा बमले २२ बलमा १ चौका र ६ छक्का प्रहार गरे।

नेपालको इनिङ सकिएलगत्तै फेरि भारी वर्षा भएपछि जापानले ब्याटिङ गर्नै पाएन र खेल रद्द गरियो। जापानका लागि यो खेल जित्नैपर्ने थियो।

यसअघि शुक्रबार नेपालले अफगानिस्तानलाई ५ विकेटले हराएको थियो। यो नतिजासँगै नेपाल समूह ‘ए’ को विजेता बन्दै क्वाटरफाइनलमा पुगेको छ।

क्वाटरफाइनलमा नेपालले श्रीलंकासँग खेल्नेछ। आयोजक जापान भने समूह चरणबाटै बाहिरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*